
काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि आज पनि लकडाउन जारी छ । हिजोभन्दा आज लकडाउन प्रभावकारी देखिएको छ ।
देशभर प्रभावकारी ढङ्गले ‘लकडाउन’ कार्यान्वयन भएको प्रहरीले जनाएको छ । यसअघि ‘लकडाउन’को पहिलो दिन कतिपय मानिसहरू थाहा नपाएर घर बाहिर निस्किए पनि सम्झाइ बुझाइ गरिएको थियो । प्रहरी लकडाउनलाई उल्लंघन गरिए कारबाही गर्ने चेतावनी दिएको छ ।
लकडाउनको उल्लङ्घन गरेर अत्यावश्यक काम नभई बाहिर निस्किए नियन्त्रणमा लिएर कारबाही प्रहरीले जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ उल्लङ्घन गर्ने जो कोहीलाई संक्रामक रोगसम्बन्धी ऐन २०२० अनुसार कारबाही गर्ने निर्णय गरेको थियो ।
यसैबीच प्रहरीले अत्यावश्यक काम परेको अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गर्न आग्रह गरेको छ । फोन नभएको अवस्थामा सडक वा बजार क्षेत्रमा रहेका प्रहरी टोलीको कमाण्डरलाई थाहा दिएर अत्यावश्यक काममा जान सकिने जनाएको छ । प्रहरीले औषधि उपचारलाई अत्यावश्यक काम भनेको छ ।
यससँगै खाद्यान्न र खानेपानी पटक्कै नभएको अवस्थालाई पनि अत्यवाश्यक भनेको छ । यस्तो अवस्थामा मात्रै बाहिर निस्किन मिल्ने जनाइएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण सरकारले अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको हो ।



