बीपी साह / काठमाडौं १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्षहरुबीच आन्दोलनको विषयमा मतभिन्नता देखिएको छ । मधेशमा आन्दोलन चर्किदै गर्दा नेताहरुबीच देखिएको मतभिन्नताले दोस्रा तहका नेताहरु अलमलमा परेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेशमा आन्दोलन जारी रहेका बेला सोमबार दिउँसो जनकपुर एयर पोर्ट हुँदै काठमाडौं फर्केका छन् भने मंगलबार ११ः३० बजे तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौं फर्किन लागेका छन् ।

यादव काठमाडौं फर्किने वितिकै विभिन्न नेताहरुसँग छलफल गरेको बताइएको छ । यादव पुनः एमाओवादी अध्यक्ष प्रचण्डसँग सहकार्य गर्ने मुडमा रहेको बताइएता पनि यादवले उक्त कुराको खण्डन गरेका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बीरगंजमा भईरहेको आन्दोलनमा छन् । उनी आन्दोलन झन् चर्काउने पक्षमा देखिएका छन् ।
त्यस्तै तराई–मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादव कलैयामा छन् । उनको नेतृत्वमा विभिन्न कार्यालय तोडफोड तथा जलाइँदैछ ।

के कुरामा छ मतभिन्नता ?

फोरम नेपालका अध्यक्ष यादव काठमाडौं फर्केर मोर्चाका अन्य नेताहरुलाई फोन गरी मोर्चाको बैठकका लागि काठमाडौं आउन आग्रह गर्दैछन् । तर मोर्चाका अन्य घटकहरु मधेशमै मोर्चाको बैठक बस्ने भन्दै काठमाडौंबाट फर्किन यादवलाई नै आग्रह गर्दैछन् ।

तर सरकारसँगको वार्ताको विषयमा मोर्चाका सबै घटक एकजुट देखिएका छन् । यसअघि भएको सहमतिहरु कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने कुरामा मोर्चाका सबै नेताहरु अगडि देखिएका छन् ।

मधेशका जिल्लाहरुमा आन्दोलनको क्रममा उपेन्द्र यादवलाई संविधान सभाबाट राजीनामा दिएर आउन दबाब पर्दै आएको छ । उक्त कुरामा सद्भवाना अध्यक्ष महतोले पनि मञ्चबाटै उपेन्द्र यादवसहित मोर्चाका अन्य घटकहरुलाई संविधान सभाबाट राजीनामा दिनु पर्ने बताउँदै आएपछि यादव दबाबमा परेको हो ।

यादवले पार्टीभित्र राजीनामाको विषयमा छलफल गर्दासमेत उनी अल्पमतमा परेको बुझिएको छ ।

२२ बुँदे र ८ बुँदे लागु भए मात्र वार्ता : अध्यक्ष यादव

मंगलबार विहान हुलाकी न्यूजसँग कुराकानी गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिका सहमतीहरु कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने बताएका छन् । यादवले हुलाकीसँग भने,‘हामी सरकारसँग वार्ता गर्ने पक्षमा छौं तर सरकार वार्ताको पक्षमा देखिएको छैन । उनीहरुले हामीसँग वार्ता गर्नुछ भने पहिले सहमतिहरु कार्यान्वयन गर्नु पर्छ । त्यसपछि मात्र वार्ता हुन्छ ।’

आफु अहिले काठमाडौंमा नरहेको बताउँदै यादवले भने,‘अब मोर्चाका थप कार्याक्रमका लागि बैठक बस्ने तयारीमा छौं । हामी मोर्चाको बैठकबाट थप निर्णयहरु गर्नेछौं ।’

अव सबै कुरा मधेश मै हुन्छ : अध्यक्ष महतो

सद्भवाना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा आन्दोलन चर्केको बेला सबै कुरा मधेशमै हुने बताएका छन् । मंगलबार दिउँसो हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले मधेशी मोर्चाको बैठक वा अन्य कुनै कार्याक्रम सबै मधेशमै हुने बताए ।

मतभिन्नताको विषयमा महतोले भने,‘हामीबीच कुनै मतभिन्नता छैन । तर उपेन्द्र जीले फोनमार्फत काठमाडौंमा मोर्चाको बैठक बस्ने भन्नु भयो । मैले मधेशमै आन्दोलनका बेला मधेशमै बैठक गर्ने भने । उहाँ मधेशमा जारी रहेको आन्दोलनलाई बिच मै छोडेर काठमाडौं फर्केको थाहा पाए त्यो चाहीँ चित्त बुझेन ।’ फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.