हुलाकी न्यूज, राजविराज, २९ आश्विन । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजविराजस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै यादवले पार्टी परित्याग गरेको जनाएका हुन् ।
यादवले पार्टी भित्र अध्यक्ष विजय कुमार गच्छदारको एकल निर्णय र हैकमवादी प्रवृत्ति हावी हुँदै गएको कारण पार्टीमा बस्नुको औचित्य नभएकोले पार्टी परित्याग गरेको बताएका छन् । फोरम लोकतान्त्रिकबाट मन्त्री समेत बनेका यादवलाई तराई मधेशका जिल्लामा बलियो पकड भएको नेताका रुपमा लिइन्छ । यादवको राजीनामाले फोरम लोकतान्त्रिकलाई ठूलो धक्का लागेको विश्लेषकहरु बताउँछन् ।



