काठमाडौं । हाल विश्वभर फैलिँदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ ।

कोरोना भाईरस (कोभिड(१९) सम्बन्धी कुनै केस आएमा नेपाली सेनाका (डाक्टर सहितको) रथीवृन्द तथा अधिकृतहरु सहितको कोर टिम गठन गरि सम्पूर्ण युनिटरसव युनिटहरु तथा अन्य सरकारी निकायसँग आवश्यक समन्वय गर्ने संयन्त्रको व्यवस्था मिलाईएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरि क्वारेन्टाइन क्याम्प सेटअप गर्न तथा उक्त भाईरस विरुद्ध रोकथामका उपायहरु सम्बन्धी शैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिईएको र उक्त प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई सचेतनामूलक कार्यक्रम संचालन गरी स्थानीय स्तरमा क्वारेन्टाइन क्याम्प सेटअप गर्ने कार्य शुरु गरिएको छ ।

यसै क्रममा हालसम्म नेपाली सेनाले प्रत्येक प्रदेशमा क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गरेको छ भने नेपाल सरकारले सिमामा स्थापना गरेको हेल्थ डेक्सहरुमा समेत दक्ष स्वास्थ्यकर्मी लगायत सुरक्षाको लागि नेपाली सेनाका व्यक्तिहरु परिचालन गरिएको छ ।

विभिन्न जिल्लाहरुमा प्रदेश सरकारसँगको समन्वयमा नेपाली सेनाका स्थानीय स्तरको क्वारेन्टाईन तथा आईसोलेसन वार्डहरु तयार गर्न सहयोग गरिरहेको छ ।

कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि रोकथाम तथा न्युनिकरणको लागि श्री राष्ट्रिय सेवा दलबाट तालिम प्राप्त विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा सचेतना कार्यको लागि परिचालन गर्न सुरु गरिएको छ ।

नेपाली सेनाका परिचालित सकलदर्जाको सुरक्षाको लागि आवश्यक प्रि पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट, मास्क, पञ्जा तथा सेनिटाईजर उपलब्ध गराउन मिलाउनुका साथै नेपाली सेनाले माक्स पि.पि.इ. था सेनिटाईजरको उत्पादन समेत शुरु गरिसकेको जनाएको छ ।

कोरोना भाईरस (कोभिड–१९) सम्बन्धि नेपाल सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आयोजना गर्ने विभिन्न समारोह, कार्यक्रम, तालिम, दैनिक रुपमा हुने पि.टि. परेडमा समेत आवश्यक उच्चन सतर्कता अपनाइएको छ ।

नेपाली सेनाका सकलदर्जालाई कोरोना भाईरस (कोभिड–१९) बारे जानकारी गराई विशेष परिस्थिती र आवश्यकताको आधारमा मात्र बिदा छुट्टी छाड्न मिलाइएको छ ।

बिदाबाट फर्किएका व्यक्तिहरुलाई अनिवार्य रुपमा इन्डोर क्वारेन्टाइनमा राखी एकिन पश्चात डिउटीमा लिने व्यवस्था मिलाईएको छ भने कोरोना भाईरस (कोभिड–१९) विरुद्ध व्यारेक भित्रका सकलदर्जाको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाईएको छ ।

नेपाली सेनाको व्यारेक हाताभित्रका वासस्थानहरुमा समेत खाटहरुको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था मिलाईएको र सकलदर्जालाई व्यारेक हाताभित्र नै लक डाउन गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको जानकारी दिएको छ ।

नेपाली सेनाले आवश्यक तयारी गरी कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र त्यसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.