
वीरगञ्ज । सरकारले भारत र चीनसँगका नाकाहरू सात दिनका लागि बन्द गर्न दिएको निर्देशन पूर्ण रूपमा लागू गर्न केही कठिनाइ भएको छ ।
सरकारले बिहान १० बजेबाट नेपाल प्रवेश अन्तर्राष्ट्रिय नाकामा यात्रु आवागमन रोकेको हो । तर, वीरगञ्जसहितका अत्यधिक सर्वसाधारणको ओहोरदोहोर हुने नाकाहरू बन्द गर्न कठिनाइ भएको छ । नेपालबाट भारत जाने र भारतबाट नेपालतर्फ आउने मानिसहरू नाकामा अलपत्र परेका छन् । सोमबार बिहान ५ बजेदेखि साढे ११ बजेसम्ममा ७ सय ६२ जनालाई भारतबाट नेपाल प्रवेश दिइएको छ ।
नेपाल–भारत आवतजावत गर्न चाहनेहरूको वीरगञ्ज नाकामा भीड छ । मानिसहरू लाइनमा बसेर नेपाल प्रवेश गर्ने पर्खाइमा छन् । अघिल्लो दिनको तुलनामा भने वीरगञ्ज नाकाबाट आवतजावत निकै कम भएको छ । यता, केन्द्र सरकारले निर्णय गर्नुअघि बाँकेको रुपैडिया नाकामा आइतबारदेखि नै बन्द गर्नेबारे दुई देशका अधिकारीबीच सहमति भएको थियो । तर भारतबाट आउने यात्रु रोकिएनन् ।
कामको शिलशिलामा भारतका विभिन्न ठाउँमा गएका सयौं नेपाली आइतबार राति र सोमबार बिहान रुपैडिया नाका कटेर वारि आए । अब ती यात्रुलाई कसरी घर पु¥याउने भन्ने नयाँ समस्या आएको छ । किनकी सोमबारदेखि देशभरि एउटा जिल्लाबाट अर्को जिल्लामा जाने सार्वजनिक सवारी बन्द भएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले उनीहरूलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । त्यस्तै, रुपन्देहीको सीमानाका बेलहियाबाट सोमबार बिहान १० बजेसम्म १६ सय बढीभन्दा नेपाली प्रवेश गरेका छन् ।
बेलहिया नाकासँगै अन्य साना नाकाहरूबाट समेत मानिसहरूको आवतजावत हुनसक्ने भएकोले कडा निगरानी गरिएको छ । सीमावारी आए पनि सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएपछि पहाडी जिल्लाका यात्रुहरू बेलहियामै अलपत्र परेका छन् ।



