
भैरहवा । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि गएका नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् ।
भारत सरकारले जनता कफ्र्यू लगाए पनि रुपन्देहीको बेलहिया लगायतका सीमा नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या झण्डै तेब्बरले बृद्धि भएको छ । सुनौली हुँदै अहिले दैनिक १६ देखि १८ हजारसम्म नेपाली स्वदेश फर्किरहेको जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जनाएको छ । गत बर्ष यो समयमा दैनिक ४÷५ हजारको संख्यामा मानिसहरू नेपाल आउने गरेको तथ्याङक छ ।
नेपाल आउनेको भीड बढेपछि स्वास्थ्य जाँचका लागि तीनवटै सुरक्षा निकायलाई खटाइएको छ । नेपाली सेनासहितका सुरक्षाकर्मीले नाकामा निगरानी बढाएका छन् । वेलहियामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना लगाएर भीड व्यवस्थापन गरिएको स्थानीय प्रसाशनले जनाएको छ ।
यसैगरी प्रदेश ५ का सानाठूला गरी १७ नाकामा सर्वसाधारणको आउजाउ ह्वात्तै बढेको छ । ती नाका बन्द गर्नुको साटो प्रशासनले हेल्थ डेस्क सञ्चालन गरेर सहजीकरण गर्दै आएको छ ।
यसैबीच, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरू कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् ।
तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबार बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ । त्यस्तै कञ्चनपुरमा आइतबार मध्यरातिबाट जिल्लामा सबै पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरिएको छ ।
दैनिक उपभोग्य सामान खाद्य, दूध, औषधी, पानी, पेट्रोलियम पदार्थ, उद्धार तथा राहतको कार्यमा संलग्न यातायात भने खुला हुनेछ ।



