
काठमाडौं । सोमबारदेखि सार्वजनिक सवारीसाधन एक जिल्लादेखि अर्काे जिल्लामा जान नपाउने भएका छन् ।
कोरोना भाइरसको उच्च सतर्कता अपनाउँदै एक जिल्लाबाट अर्काे जिल्लामा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको सरकारले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गरेको सम्बोधनपछि यातायत व्यवस्था विभागले शनिबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई रोक हुने सवारी साधनको बारेमा पत्र पठाएको यातायात विभागले जनाएको छ । लामो दूरीको यातायात सञ्चालनमा मात्र रोक लगाइएको छ ।
दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा कुनै रोक लगाइएको छैन । त्यस्तै, लामो दूरीका निजी सवारी साधनमा पनि कुनै रोक लगाइएको छैन । उपत्यकाभित्र भने सार्वजनिक गाडीहरू एक जिल्लाबाट अर्को जिल्लामा जान पाउनेछन् ।
शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा चैत १० गतेदेखि लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइने भनिएको थियो ।



