
काठमाडौं । सरकारले कोरोना भाइरसलाई ध्यानमा राख्दै ६ वटा कार्यदल गठन गरेको छ । शनिबार राति सम्पन्न भएको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो ।
कार्यदल समिति मातहत नै रहनेगरी गठन गरिएको अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा एउटा कार्यदल गठन गरिएको छ ।
त्यस्तै देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने उनले बताए । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्नेछ भने आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । त्यस्तै राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा कार्यदल बनाइएको छ भने निर्णय र निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन रक्षा मन्त्रालयले गर्नेछ । त्यसैगरी, सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ ।
स्थानीय, प्रदेश र केन्द्रीय तहबाट कोरोना संक्रमितको लागि राखिने क्वारेन्टाइन बनाइएको र सञ्चालनका लागि सरकारलाई अनुरोध आएको भन्दै खतिवडाले निर्माण भएका क्वारेन्टाइनलाई आइसोलेटेट गरी एकद्वार प्रणालीबाट सञ्चालन गरिने बताए ।
यसका साथै भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कूटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको खतिवडाले जानकारी दिए ।
यसअघि सरकारले चैत ९ देखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने, अन्तर्राष्ट्रिय उडान आवागमनमा प्रतिबन्ध लगाउने तथा चैत १० देखि लामो दूरीको यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाउनेलगायतका निर्णय गरेको थियो ।



