एजेन्सी । लण्डनबाट भारत फर्किएकी भारतीय गायिका कनिका कपुर विमानस्थलको चेकिङ छलेर पार्टीहरुमा सहभागी हुँदा लखनउ महानगर क्षेत्र पूरै लक डाउन भएको छ ।

लण्डनबाट फर्किएकी कनिका आइसोलेसनमा नबसी भोज तथा पार्टीहरूमा सहभागी हुँदा पूर्वमुख्यमन्त्रीदेखि सांसदहरू समेत सेल्फ आइसोलेसनमा बस्न पुगेका छन् ।

प्रशासनले लखनउ महानगर क्षेत्रका सबै सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठानलगायत क्षेत्र २३ मार्चसम्म बन्द गर्ने निर्णय गरेको छ । नौ मार्चमा बेलायतको लण्डनबाट मुम्बई फर्किंदा विमानस्थलबाट चेकजाँचलाई छलेर निस्किेको गायिका कनिकामाथि आरोप छ । उनी त्यसपछि लखनउ पुगेर तीनवटा ठूला पार्टीमा सहभागी भएकी थिइन् ।

चार दिनअघि उनको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि लखनउ शहर पुरै लक डाउन गर्नुपरेको हो । कनिका बस्ने सोसाइटीमा करिब सात सय फ्ल्याट छन् । यो फ्ल्याट बीजेपी राज्यसभा सांसद् सञ्जय सेठको हो ।

स्थानीय प्रशासनले अहिले सोसाइटीमा बस्ने सबैको स्वास्थ्य परीक्षणको तयारी गरिरहेको छ । उनी सहभागी भएको पार्टीमा उच्चतहका राजनीतिक अधिकारीहरू समेत सहभागी थिए । उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि पार्टीमा सहभागी उच्चतहका अधिकारीको स्वास्थ्य परीक्षण गराइएको छ ।

अकवर अहमद डम्पीको घरमा भएको पार्टीमा राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजेसमेत सहभागी थिइन् । कनिकालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि राजेले स्वास्थ्य परीक्षण गराएकी थिइन् । अहिले संक्रमण नदेखिए पनि उनी १४ दिनको सेल्फ आइसोलेसनमा गएकी छन् ।

उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जय प्रताप सिंहको स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिए पनि उनी पनि आइसोलेसनमा बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्न सरकारले बनाएको नियम उलङ्घन गरेर संक्रमणको जोखिम बढाएको भन्दै उनीविरुद्ध उजुरी दर्ता भइसकेको छ ।

उनी अहिले उपचारका लागि अस्पतालमा छिन् । कनिका कपुर भारतकी चर्चित गायिका हुन् । उनले गाएका गीत मध्ये ‘बेबी डल’ भन्ने गीत सर्वाधिक चर्चामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.