
एजेन्सी । पछिल्लो कोरोना भाइरसबाट दक्षिण एसियाली मुलुकहरूमा पनि संक्रमण बढ्दै गएको छ ।
दक्षिण एसियाका नेपाल बाहेक सबै मुलुक संक्रमितहरू रहेका छन् । त्यस्तै, श्रीलंकामा पनि संक्रमितको संख्या ६० पुगेको छ । थप जोखिम बढ्न नदिन तथा सामाजिक दूरी कायम गर्न श्रीलंकाले शुक्रबार साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन् । कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ ।
यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरिसकेको छ । गत बिहीबार श्रीलंकाले संसदय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

त्यस्तै, भारतमा पनि ‘जनता कर्फ्यू ’ लगाउने घोषाणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राति देशका नाममा सम्बोधन गर्दै आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्मका लागि जनता कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।
यस अवधिमा घरबाट ननिस्किन आग्रह गरिएको छ । उनले यो कार्यमा सबै भारतबासीसँग सहयोगको अपिल गरेका छन् ।
मोदीले त्यसैदिन साँझ पाँच मिनेट ताली, घण्टी, थालसहित बजाएर संक्रमितको उपचारमा खटिएकाहरूको हौसला बढाइदिन अपिलसमेत गरेका छन् ।



