
काठमाडौं । सरकारले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले खुला सीमा–नाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो ।
कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । भारतमा तीब्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्नेतर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गनै गर्न नदिने योजनाका साथ अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
त्यस्तै, बैठकले अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन पनि दिएको छ ।



