भारत । भारतमा ७ वर्ष अघि भएको निर्भया बलात्कार र हत्या घटनाका दोषीहरूलाई भोलि फाँसी दिने तयारी गरिएको छ ।

सन् २०१२ को डिसेम्बर १६ तारिखमा भएको बलात्कार घटनामा दोषीहरू मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरलाई घटनाको ७ वर्ष तीन महिनापछि मृत्युदण्ड दिन लागिएको हो ।

यसअघि पटकपटक मृत्युदण्डको समय तोकिए पनि प्रतिवादी पक्षका वकिलले दयायाचिकासहितका कानुनी हथकण्डा अपनाएर उनीहरूलाई जोगाउँदै आएका थिए ।

मृत्युदण्डको दुई दिनअघि मात्रै दोषी अक्षयकी श्रीमती पुनिताले बिहारको औरंगाबाद जिल्लाको अदालतमा सम्बन्धविच्छेदको निवेदन दिइन् । उनले ‘म विधवाको रुपमा बाँच्न चाहन्नँ त्यसकारण मृत्युदण्ड अघि कानूनी रुपमा हाम्रो सम्बन्धविच्छेद होस्’ भन्दै सम्बन्धविच्छेदको माग गरिन् । उनको यो निवेदनपछि प्रश्न यो उठ्छ कि दोषीको मृत्युदण्डको सजाय यसपटक पनि रोकिएला ? यसको जवाफ हो ‘रोकिँदैन’ ।

एक भारतीय सञ्चार माध्यमले ३५ वर्षसम्म तिहाड जेलमा कानुनी अधिकारीका रूपमा कार्यरत सुनिल गुप्ता र वरिष्ठ वकिल उज्जवल निकमले सम्बन्धविच्छेद ‘सिभिल मामला’ मा आउने र मृत्युदण्ड ‘क्रिमिनल मामला’ मा आउने भएकोले क्रिमिनल मामलामा सिभिल मामलाले असर नगर्ने जानकारी दिएका छन् । त्यसकारण मार्च २० तारिख बिहान साढे ५ बजे निश्चित भएको मृत्युदण्ड रद्द हुने सम्भावना शून्य बराबर छ ।

सम्बन्धविच्छेदको मामला विचाराधीन भएका कारण दोषीले डेथ वारेन्टको मिति अघि सार्न वा रद्द गर्न अपिल गर्नसक्छन् ? यो प्रश्नको जवाफमा सुनिल र उज्ज्वल निकमले भने, ‘दोषीले के गर्लान् त्यो उनीहरुमा नै निर्भर हुन्छ तर यदि दोषीले निवेदन दिइहाले पनि अदालतले अब उनीहरुको मृत्युदण्ड रोक्न सक्दैन ।’

यता, दोषीका वकिल एपी सिंहले भने, ‘पीडितले न्याय पाउनुपर्छ ।’ दोषीका वकिल एपी सिंह अहिले पनि पीडितले न्याय पाउनुपर्ने कुरामा अडिग छन् । उनले भने, ‘उनी (अक्षयकी श्रीमती) पीडित हुन् । उनको अधिकार हो । यदी उनलाई (अक्षय) लाई मृत्युदण्ड दिइयो भने उनकी श्रीमतीको अधिकार के होला ? उनी त विधवा हुनेछिन् । उनी त जवान थिइन् ।

उनको एक वर्षअघि मात्रै विवाह भएको थियो र दुई महिनाका छोरा थिए । त्यतिबेलादेखि अक्षय जेलमा छन् ।’
सबै कानुनी विकल्प समाप्त
सर्वोच्च अदालतको गाइडलाइनले भन्छ कि डेथ वारेन्ट र मृत्युदण्डको मितिमा १४ दिनको अन्तर हुनुपर्छ । दोषीको डेथ वारेन्ट मार्च ५ मा जारी भएको थियो ।

मृत्युदण्डको सजायमा दोषीका सबै कानूनी विकल्प प्रयोग गर्ने अधिकार हुन्छ र चारै दोषीले आफ्नो सबै कानूनी अधिकार प्रयोग पनि गरेका छन् । चारैजनाको रिभ्यु पिटिशन, क्यूरेटिभ पिटिशन र दया याचिका पनि खारेज भइसकेको छ ।

यदि दोषीले मृत्युदण्ड रोक्नका लागि आज पनि कुनै निवेदन दिन्छन् भने उनीहरुको मृत्युदण्ड रोकिने सम्भावना निकै कम छ । किनभने याकूब मेमनले मृत्युदण्ड हुनु एकदिन अघि राष्ट्रपति समक्ष दया याचिका पठाएका थिए ।

उनको दया याचिका खारेज भएपछि उनका वकिल राति पनि सर्वोच्च अदालत गएका थिए । तर पनि उनको मृत्युदण्ड रोकिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.