
विराटनगर । कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार भएको छ ।
प्रदेश १ सरकारले फागुन दोस्रो साता नै आइसोलेसन वार्ड तयार भएको दाबी गरे पनि बुधबारबाट बल्ल सञ्चालनमा ल्याएको हो । अस्पतालले बुधबार पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमितका लागि आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
आइसोलेसन वार्डमा आइसोलेसनका लागि चाहिने उपकरण, चिकित्सकलगायतका पूर्वाधार तयार भएको छ । प्रदेश सरकार र सेभ द चिल्ड्रेनको सहयोगमा उपकरण तथा बिरामीको चेकजाँच गर्दा प्रयोगमा ल्याइने गाउनसमेत व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
अस्पतालले कोरोना भाइरससम्बन्धी जानकारी गराउन सूचना केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रहेका तीनवटा वार्डमा ६ वटा आइसोलेस बेड सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्रले जानकारी दिइन् ।
पहिलोचरणमा तीनवटा वार्डमा ६ वडा बेड सञ्चालन ल्याएको र केही दिनमै थप दुुईवटा वार्डमा ४ वटा बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताइन् । अस्पतालमा थप बिरामी आए उनीहरूलाई ‘रेफर’ गर्न अस्पतालले चालकसहित दुुईवटा एम्बुुलेन्ससमेत तयार गरेको छ ।
प्रदेश सरकारले कोशी अस्पतालसहित विराटनगरस्थित विराट मेडिकल कलेज तथा नोवेल अस्पतालमा आइसोलेसन बेड सञ्चालन गर्ने निर्णय गरेको थियो ।



