एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ ।

कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीब्र गतिमा बढेको छ । इटालीमा बुधबार एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ ।

त्यहाँ अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार हजारभन्दा बढी मानिस निको भएका छन् । इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यस क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको हो ।

गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश इटाली हो । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् ।

अहिलेसम्म दुई लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चीनसहितका एसियाली क्षेत्र र युरोपमा ८० प्रतिशत संक्रमित छन् । इटाली विगत दुई हप्ता भन्दा बढी समयदेखि लक डाउनको अवस्थामा छ ।

तर विश्व स्वास्थ्य संगठनका प्रमुखले बुधबार कोरोनाको संक्रमण रोक्नका लागि देशहरू आइसोलेसनमा जानुपर्ने, परीक्षण र उपचारको व्यवस्था हुनुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.