
काठमाडौं । नेपाल सरकारले देशभरका सिनेमा हल, सांस्कृतिक केन्द्रसहित बन्द गर्ने निर्णय गरेको छ ।
काठमाडौंमा बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, डान्स क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्ज स्थान, डान्स बार तथा क्लबलगायतलाई भीडभाड हुने स्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, अत्यावश्यक कामबाहेकको अवस्थामा घरबाट बाहिर ननिस्कन पनि समितिले आग्रह गरेको छ ।
बैठकले युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णयमा गरेको छ ।
साथै, चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसईई परीक्षा नरोकिने समेत जानकारी दिइएको छ ।
त्यसैगरी, धार्मिक र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरिएको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सरकारले आग्रह गरेको छ ।
यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिइएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले अप्रिल ३० सम्मका लागि यी निर्णयहरू लागू गरेको हो ।



