
एजेन्सी । इटलीस्थित कारागारहरू दंगा हुँदा ९ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण रोक्न इटली सरकारले कारागारमा रहेका कैदीबन्दीहरूलाई उनीहरूका आफन्तजनसँग भेट गर्न रोक लगाएपछि भडकिएको दंगामा ९ जनाको मृत्यु भएको हो ।
इटलीको मोडेना, नेपल्स, पोगिओरेले, फोगिया र रिएती गरी २० वटा कारागारमा दंगा हुँदा कैदीहरूको ज्यान गुमाएका छन् । सरकारले कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन बेवास्ता गरेको र परिवारजनसँग पनि भेट गर्न नदिएको भन्दै उनीहरूले प्रदर्शन गरेका छन् ।
उनीहरूले कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आक्रमण गर्नुका साथै केही कर्मचारीलाई बन्दी बनाएका छन् । कैदीहरूले कारागारमा रहेका फर्निचरहरू जलाउनु साथै क्यान्टिनमा पनि आगजनी गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।



