
काभ्रे । काभ्रेको पनौतीमा अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । बिहान ९ बजेदेखि कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमबार पनौती नगरपालिका–५ मानेश्वरीमा टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएको थियो । झडपकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले साँझ ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा चार प्रदर्शनकारी पनि घाइते भएका छन् । यो घटना सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कफ्र्यु लगाएको हो ।
बा. ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो । घटनाको विरोधमा स्थानीयबासीले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।
टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।



