
जनकपुरधाम । प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुने भएको छ । बिहान ८ बजे बोलाइएको प्रदेशसभाको बैठकमा राजधानी र नामका विषयमा मतदान हुने भएको हो ।
आजको बैठक ऐतिहासिक हुने भएकाले अनिवार्य रूपमा उपस्थिति हुन सभामुख सरोजकुमार यादवले सांसद्हरूलाई रुलिङ गर्नुभएको छ । यसअघि, दुई पटक मतदानको मिति सारिएको थियो । चैत १ गतेका लागि मतदानको कार्यतालिका बनाइए पनि अन्तिम समयमा मिति सारिएको थियो । त्यस्तै, फागुन २३ गते मतदान गर्ने भनिएको थियो ।
राजधानी ‘जनकपुरधाम’ राख्ने विषयमा दलहरूबीच करिब करिब सहमति जुटेको छ । तर, नामाकरणका विषयमा सबै दल आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो । सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा ‘मधेश’, नेकपाले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ र केही सांसद्ले ‘मध्य मधेश’ नामाकरण गर्नुपर्ने भनेर गत भदौं ५ गते प्रस्ताव दर्ता गराएका थिए ।
राजधानीका विषयमा पेश भएका पाँच र नामका विषयमा पेश भएका तीन प्रस्तावमा सभामुख नेतृत्वको विशेष अध्ययन समिति पटक–पटक छलफल भएको थियो । तर, राजधानीका पाँच प्रस्तावलाई तीनमा झारिएको छ ।
राजधानीका विषयमा अधिकतर सांसद् जनकपुरधामको पक्षमा छन् । तर, नामाकरणका विषयमा कुनै सहमति जुट्न नसकेपछि मतदानको विकल्प रोजिएको हो ।
राजधानी र नाम दुई तिहाइ सदस्यले प्रदेशसभाबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ छैन । दुई दल एक ठाउँमा आउँदासमेत दुई तिहाइ पुग्ने अवस्था नरहेकाले आजको मतदानबाट नामाकरण हुने सम्भावना कम छ । यद्यपि, तीन दल एक ठाउँमा वा क्रस भोटिङ भएको अवस्थामा भने नामाकरण हुने सम्भावना जिवितै छ ।
यता, राजधानी ‘जनकपुरधाम’ हुनुपर्नेमा अधिकांश सांसद् सहमत रहेकाले आजको बैठकबाट यो विषय टुंगो लाग्न सक्छ ।



