
कैलाली । कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन सुरु गरेको छ ।
प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताए । टीकापुरमा विमानस्थल निर्माणको काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डानुसार हुनेछ ।
टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेका थिए ।
मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएका थिए । हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलको जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ ।
टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ ।



