
जनकपुरधाम । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै जनकपुरधाम–पटना बस सेवा बन्द भएको छ ।
कोरोना भारतमा समेत प्रवेश गरेपछि नेपाल–भारतमैत्री बस सेवा बन्द गरिएको हो । बस सेवा चैत्र १८ गतेसम्मका लागि बन्द गरिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिएका छन् ।
कोरोनाको संक्रमणलाई ध्यानमा राखेर सेवा थप निर्णय गरिने पनि उनले बताए । २०७५ साल भदौं ३१ गते जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र बिहारको पटनाबाट मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर नेपाल–भारत मैत्रीपूर्ण बस सेवाको उद्घाटन गरेका थिए ।
नेपालको स्वम्भु–मञ्जश्री यातायात प्रालिका चार तथा बिहार राजपथ परिवहन निगमका ४ बसबाट सेवा प्रारम्भ भएको थियो ।
सन् २०१४ मा नेपाल–भारतबीच भएको पारवहन समझौताअनुसार बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो ।



