
जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश नम्बर २ सरकारले तयारी थालेको छ ।
प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको संक्रमणबाट जोगाउन प्रदेशभित्रका दुई मेडिकल कलेज र अस्पतालहरूमा आइसोलेशन वार्ड निर्माणको काम अगाडि बढाएको छ । विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ ।
प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए ।
प्रदेश २ मा हालसम्म एक जनामा पनि कोरोनाको सङ्क्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिए । यसैगरी कोरोनाको सङ्क्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ ।
विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



