हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । परराष्ट्र मन्त्री कमल थापाले मधेशी दलको आन्दोलनको कारण इन्धनलगायतका सामानको अभाव भएको स्विकार गरेका छन् । काठमाडौंमा बिहिबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले भारतले नाकाबन्दी नगरेको भन्दै मधेशी दलको आन्दोलनको कारण सामान आउन नसकेको बताए ।
उनले वीरगंज नाकाबाहेक अरु नाकाबाट सामान आइरहेको पनि जनाए । शनिबार भारत भ्रमणमा जान लागेका परराष्ट्र मन्त्री थापाले अरु नाकाबाट पनि नियमित सामान आयात हुन नसकेको बताए । रक्सौल बाहेक अन्य नाकाहरुमा खुकुलो रहेको भन्दै थापाले भने, ‘तर, पर्याप्त बुलेट, ट्यांकरहरुको अभाव छ, लोड(अनलोडका पनि केही समस्या देखा परेका छन् । त्यसले पनि हुन सक्छ, त्यसैले अहिले केही आशंका नगरी बेनिफिट अफ डाउट दिएर हेरौं न ।’



