
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेका छन् । ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन् ।
कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो । उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।
कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रलाई मोदीको प्रस्ताव
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरूलाई एकजुट हुन प्रस्ताव गरेको छ ।
यो प्रस्तावमा पाकिस्तान समेत सहभागी हुने भएको छ । गएराति सामाजिक सञ्जाल ट्वीटरमार्फत् पाकिस्तानी विदेश मन्त्रालयले मोदीको प्रस्तावमा सहभागी हुने जनाएको हो । प्रस्तावमा मोदीले सबै सार्क राष्ट्रलाई भिडियो कन्फेरेन्समार्फत छलफल गर्ने बताउनुभएको छ ।
नेपाल, बंगलादेश, भूटान, माल्दिभ्स, अफगानिस्तान र श्रीलंकाले मोदीको प्रस्तावको स्वागत गरेका छन् । तर, पाकिस्तानले भने भिडियो कन्फेरेन्समा प्रधानमन्त्री नभई प्रधानमन्त्रीका विशेष सहयोगी सहभागी हुने जनाएको छ ।



