
जनकपुरधाम । प्रदेश २ को राजधानी र नामका लागि हुने मतदानको मिति फेरि सारिएको छ । राजधानी र नाम तय गर्न चैत १ गतेका लागि मतदानको कार्यतालिका बनाइए पनि अन्तिम समयमा मिति सारिएको हो ।
अब भने चैत ४ गते मंगलबार मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, फागुन २३ गते मतदान गर्ने भनिएको थियो । राजधानी र नामका विषयमा सहमति जुट्न नसकेपछि मतदानको तयारी थालिएको हो ।
प्रदेश २ को राजधानी र नामका लागि २०७६ भदौं ५ गते दलहरूले प्रदेशसभा सचिवालयमा प्रस्तावहरू दर्ता गराएका थिए । राजधानीका विषयमा पाँच र नामका विषयमा चार प्रस्तावहरू दर्ता भएका थिए ।
यी प्रस्तावहरूमाथि सांसद्सहित सरोकारबालासँग छलफल गरी सहमति जुटाउन भदौं २९ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरिएको थियो । पटक–पटक छलफल भए पनि दलहरूबीच सहमति जुट्न नसकेपछि मतदानबाटै राजधानी र नामका विषयमा टुंगो लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिले फागुन ३० गतेको प्रदेशसभा बैठकमा पेश गरिसकेको छ ।
समितिले बुझाएको प्रतिवेदनअनुसार राजधानीका विषयमा पेश भएका पाँच प्रस्तावमा केही सहमति भएर हाल तीन प्रस्ताव कामय रहेका छन् । त्यस्तै, नामाकरणका विषयमा आएका चार प्रस्तावमध्ये कुनैमा सहमति जुट्न नसकेको समितिले जनाएको छ । राजधानी जनकपुरधाम राख्ने विषयमा करिब करिब दलहरूबीच सहमति जुटेको छ । तर, नामका विषयमा सबै दल आ–आफ्नै अडानमा बसेपछि सहमति जुट्न नसकेको हो ।
सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा ‘मधेश’, नेकपाले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ र केही सांसद्ले ‘मध्य मधेश’ नामाकरण गर्नुपर्ने भनेर प्रस्तावहरू पेश गरेका थिए ।
मतदानबाट नामाकरण पेँचिलो
मतदानबाट प्रदेशको राजधानी टुंगो लाग्ने निश्चित भए पनि नामाकरण पेँचिलो बनेको छ । राजधानी र नाम प्रदेशसभाको दुई तिहाई मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेश २ मा कुनै पनि दलको दुई तिहाई छैन ।
एक सय ७ सदस्य रहेको प्रदेश २ प्रदेशसभाको दुई तिहाई मत ७२ हुन जान्छ । मधेश प्रदेश नाम राख्नुपर्ने अडानमा रहेका सत्तारुढ सपा (३०) र राजपा (२५) सँग कुल ५५ मत मात्र रहेको छ । त्यस्तै, नेकपासँग ३२, नेपाली कांग्रेससँग १९ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीसँग १ मत रहेको छ ।
गणितीय हिसाबले प्रदेश २ का ठूला तीन दल मिले मात्र मतदानबाट प्रदेश २ को नामाकरण हुन सक्छ । यसका साथै क्रस भोटिङ भएको अवस्थामा पनि नामाकरण टुंगो लाग्न सक्छ । नेकपामा जानकी र कांग्रेसमा मिथिला भोजपुरा नामलाई लिएर मतभेद रहेको अवस्थामा क्रस भोटिङसमेत हुन सक्ने सम्भावना रहेको छ । क्रस भोटिङ भएको अवस्थामा मतदानबाट नामाकरणको टुंगो लाग्न सक्छ ।



