
एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेसँगै अमेरिकाले राष्ट्रिय संकलकालको घोषणा गरेको छ ।
संकटकालको घोषणा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई परास्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । संकटकाल घोषणा गरेपछि अमेरिकी सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ ।
स्वास्थ्यमन्त्री र अन्य अधिकारीले केही कानुनी प्रावधानलाई खुकुलो पारिदिन सक्छन् । त्यसबाट स्वास्थ्यसेवा प्रदायकहरूलाई काम गर्न सजिलो हुन्छ । अस्पतालहरूलाई आपत्कालीन तयारीका योजना सक्रिय पार्न भनिएको छ । अर्को हप्तासम्म थप पाँच लाख परीक्षण उपलब्ध हुनेछन् । तर, आवश्यक नभएको खण्डमा परीक्षण नगराउन आग्रह गरिएको छ ।
निजी प्रयोगशाला र खोप विकासकर्ताहरूले एक महिनाभित्र ५० लाख परीक्षण उपलब्ध गराउन सक्नेछन् । विद्यार्थीहरूले लिएको ऋणको ब्याज अर्को सूचना प्रकाशित नभएसम्म मिनाहा गरिएको छ । कोरोनाभाइरस संक्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो ।
अमेरिकामा १ हजार ७ सय १ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको मृत्यु भएको छ । अमेरिकाका विभिन्न राज्यले संक्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन् । त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएको छ । गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीको केन्द्रबिन्दू अहिले युरोप भएको छ । शुक्रवार विभिन्न युरोपेली देशमा संक्रमण र मृत्युको दर ह्वात्तै बढेको छ ।
इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भएको । अहिलेसम्म त्यहाँ कुल १ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६० मा संक्रमण पुष्टि भएको छ ।



