हुलाकी न्यूज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने मधेशमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । जसअनुसार मधेशमा यस वर्ष मंगलबार होली परेको छ ।

त्यस्तै, जनकपुरधाममा भने बुधबार होली पर्व मनाइने छ । यसपटक कोरोना भाइरसको त्रासका कारण भीडभाडमा नजान सरकारले गरेको आग्रह र सर्वसाधारणले पनि सतर्कता अपनाइरहेकाले होलीमा त्यति उमंग देखिएको छैन ।

त्यस्तै, मंगलबारका दिन धेरै जसोले उपवास बस्ने गरेकाले मिठो परिकार तथा मासु खानबाट समेत बञ्चित हुने भएकाले पनि खासै रौनक देखिएको छैन ।

जनकपुरधाममा भने १५ दिने मध्यमा परिक्रमाअन्तर्गत अन्तगृह परिक्रमाको भालिपल्ट होली पर्व मनाउने परम्परा रहँदै आएको छ । यसपटक सोमबार अन्तगृह परिक्रमा सम्पन्न भई मंगलबार होली पर्व परे पनि बुधबार मात्र मनाइने भएको छ ।

मधेशमा दुई दिनसम्म होली पर्व हुने भएकाले प्रदेश २ सरकारले २७ र २८ गते सार्वजनिक विदासमेत दिएको छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न षड्यन्त्र गर्दा पनि सफल भएनन् ।

त्यसपछि, आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी हिरण्यकश्यपकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.