हुसैन अंसारी, परासी, २८ असोज । नवलपरासीमा संचालित धार्मिक विद्यालयहरु मध्ये मदरसामा पढने बालबालिकाहरुको उच्च शिक्षाको व्यवस्था नेपालमा नहुँदा हजारौं बालबालिकाहरुको भविष्य अन्यौलमा परेको छ ।
जिल्लाका सबै मदरसामा कक्षा पाँच पछिको शिक्षाको व्यवस्था नहुँदा उर्दु पढने विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको हो । जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त धार्मीक विद्यालयहरु एवं ४३ वटा मदरसाहरुमा ईस्लामिक विषयका शिक्षा सेवा प्रदान गरिदै आइएको छ । ति विद्यालयहरुमा कक्षा १ देखी कक्षा ५ सम्म मात्र स्लामी धर्मको पढाई गर्ने शिक्षा कार्यालयले अनुमति दिएको छ ।
मुस्लिम समुदायका बालबालिकाहरुले जिल्लामा रहेका विभिन्न मदरसाहरुमा कक्षा १ देखी कक्षा ५ सम्म इस्लाम धर्मको विषयमा पढाई गरेपछि उच्च शिक्षाका लागि छिमेकी मुलुक भारतमा जाने गरेका मुस्लिम धर्मावलम्बीहरुले बताएका छन् ।
अधिकांश गरिब तथा विपन्न परिवारका विद्यार्थीहरु आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ५ पछिको शिक्षा भारतमा गएर लिन नसकेपछि पढाईनै छोडने गरेका ईस्लामीक मदरसा संघ नवलपरासीका अध्यक्ष बुद्धन अलिले बताए ।
उनको अनुसार ईस्लाम धर्म अनुसार छात्रलाई छुटै ठाउँमा शिक्षाको व्यवस्था हुन पर्छ भने छात्राहरुका लागि छुटै ठाउँमा शिक्षा दिने व्यवस्था हुन पर्छ । छात्र र छात्रा एकै ठाउँमा शिक्षा दिनेलिने संस्कार नरहेपछि खासगरि छात्राहरु शिक्षामा झन पछाडी छन् ।
शिक्षा कार्यालयले धार्मीक विद्यालयका रुपमा संचालनको अनुमति दिएका धार्मीक विद्यालयहरु मध्ये बुद्ध धर्मको अध्यनका लागी दाउन्नेमा रहेको एक मात्र नमो बौद्ध गुम्बा हिन्दु धर्म र संस्कृत अध्यानका लागी जिल्लामा प्रगतिनगर, त्रिवेणी एवं गिरुबारिमा गरि ३ वटा संस्कृत विद्यालय रहेको भए पनि मुस्लिम धर्मको अध्यनका लागी नवलपरासीमा सबै भन्दा धेरै ४३ वटा मदरसा रहदापनि भने राज्यले यसको उच्च शिक्षाको व्यवस्था नमिलाएको अवस्था छ ।
नेपाली विद्यार्थी उच्च शिक्षाको खोजीमा भारत जानपर्ने बाध्यता छ । मदरसामा पढने विद्यार्थी हजारौंको संख्यामा हुदा हुदै पनि राज्यले कक्षा ५ पछिको कक्षा संचालनमा अनुमति नदिएका कारण मदरसामा पढने अधिकांश विद्यार्थीहरुले पढाई छाडने गरेका छन् ।
केहि विद्यार्थीहरु उर्दुको उच्च शिक्षा छिमेकि देश भारतमा गई प्राप्त गर्दैछन् भने अधिकांश विद्यार्थीहरु बाध्य भएर उर्दु शिक्षा छोडी नेपाली सामुदायीक विद्यालयमा गई आफनो पठनपाठन सुरु गरेका परासीबासी हैदरअलि मोमिनले बताए ।
नवलपरासीमा परासी स्रोत केन्द्र अन्तर्गत १६ वटा, पंचनगर स्रोत केन्द्र अन्तर्गत ६ वटा, डैनहवा स्रोत केन्द्र अन्तर्गत २ वटा एवं बेलाटारी स्रोत केन्द्र अन्तर्गत १९ वटा गरि जम्मा ४३ वटा मदरसाहरुले जिल्लाका मुस्लिम समुदायमा धार्मीक शिक्षा दिदै आएका छन । जसमा हाल अध्ययनरत करिब २ हजार ५ सय छात्रछात्राहरु आवद्ध रहेको शिक्षा कार्यालयले जनाएको छ ।



