हुलाकी न्यूज, काठमाडौं, २८ आश्विन । सरकारले आन्दोलनरत मधेशी र थारु मोर्चाहरुलाई वार्तामा आउन आहृवान गरेको छ । सरकारले आन्दोलनरत समूहलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दलहरुसँग छलफल गरेर वार्ता टोली बनाउने निर्णय समेत गरेको छ । नेपाली कांग्रेससहितका दलहरुसँग छलफल गरेर वार्ता समिति बनाउने सरकारको तयारी रहेको स्रोतले जनाएको छ ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले पनि मधेशी र थारुसँग वार्ताका लागि कांग्रेस, एमाले र एमाओवादीसम्मिलित वार्ता समिति गठन गरेको थियो । उक्त समितिले आन्दोलनरत मधेशी थारुसँग वार्ता गर्न गम्भीरता देखाएन ।
मन्त्रिपरिषद् बैठकले इन्धन आपूर्ति सहज बनाउन पहल गर्ने निर्णय पनि गरेको छ । यसका लागि वैकल्पिक उपायहरुको खोजी गर्न समेत सम्वन्धित निकायहरुलाई निर्देशन दिएको छ ।



