हुलाकी न्यूज, बारा । पत्रकार वीरेन्द्र साहको हत्याघटनामा दोषी भई सजाय सुनाइएका फौजदारलाई आज सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिउँसो पत्रकार सम्मेनलन गरी नरेन्द्रकुमार फौजदार कुन्दनलाई सार्वजनिक गरेको हो । १२ वर्षअघि भएको यो घटनाका मुख्य अभियुक्त फौजलारलाई प्र्रहरीले आज बिहान पक्राउ गरेको थियो । १२ वर्षदेखि फरार सूचीमा रहेका फौजदार हाल बारागढी गाउँपालिका ६ गडहलबाट पक्राउ परेका हुन् ।
पत्रकार साहलाई फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेत ५ जनाले अपहरण गरी गोली प्रहार गरी हत्या गरेका थिए । जसमध्ये लालबहादुर चौधरी र हरेराम पटेल अझै फरार छन् । अन्य दुई जनामा एक जनाले कैद भुक्तान गरिसकेका छन् भने एक जना कारागारमा छन् । मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गत वर्ष छुटेका थिए ।
त्यस्तै, अभियुक्त रामएकवाल सहनी १० वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको अवस्थामा करिव एक महिना पछि उनको शव टाँगियाबस्तीको जंगलमा भेटिएको थियो । साहको शव हत्या गरी गाडिएको अवस्थामा ३४ दिन पछि फेला परेको थियो । पत्रकारका साहका एक छोरा र एक छोरी छन् ।
आइतबार फौजदारलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । पत्रकार साह एभिन्युज टेलिभिजनका लागि बारा सम्वाददाताका रूपमा कार्यरत थिए ।



