हुलाकी न्यूज, एजेन्सी । अष्ट्रेलिया आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । एलिसा हेली र बेथ मोनीको शतकीय साझेदारी मद्दतमा अस्ट्रेलियाले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गर्दै पाँचौ पटक उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्र जोड्न सक्यो । पहिलो पटक उपाधि उचाल्ने भारतको योजना सुरुवाती ब्याट्स वुमन चल्न नसक्दा अधुरै रह्यो । लगातार विकेट पतन हुँदा दबाबमा आएको भारतले ३ दशमलव १ ओभरमा ४ ब्याट्सवुमन गुमाइसकेको थियो ।

भारतकी तानिया भाटिया २ रन जोड्दा रिटार्यट हर्ट हुँदै पवेलियन फर्किइन् । ओपनर ब्याट्सवुमन सफली वर्मा २ र स्मृति मन्दना ११ रन जोड्दै पवेलियन फर्के । हरमनप्रित गौर ४ रनमा आउट हुँदा जेमिमाह रोड्रिग्सले खातै खोल्न सकिनन् । अस्ट्रेलियाका लागि जेस जोनासेनले २ तथा सोफी मोलिनेक्सले १ विकेट लिए ।

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका ओपनिङ ब्याट्सवुमन एलिसा हेली र बेथ मोनीले १ सय १५ रनको उत्कृष्ट साझेदारी गरे । बेथ मोनी ७८ र निकोला क्यारी ५ रनमा नटआउट रहे ।

५४ बलको सामना गरेकी मोनीले १० चौका हानिन् । ७५ रनको योगदान दिएकी हेली राधा यादवको बलमा वेद कृष्णमूर्तिको हातबाट आउट भइन् । ३९ बलको सामना गरेकी उनले ५ छक्का र ७ चौका प्रहार गरिन् । तेस्रो नम्बरमा ब्याटिङमा आएकी मेग ल्यानिंग १६ रन जोड्दा पवेलियन फर्किन् ।

१५ बलमा उनले २ चौका हान्दै १६ रन जोडिन् । राहेल हेनेशले ४ र एशलेग गार्डनर २ रन जोड्दा आउट भए । भारतका लागि दिप्ती शर्माले २ तथा राधा यादव र पुनम यादवले एक–एक विकेट लिए । शर्माले आफ्नो स्पेलमा ३८ रन खर्चेर २ विकेट झारेकी हुन् ।

अस्ट्रेलियाले यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप टी–ट्वान्टीको उपाधि उचालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.