हुलाकी न्यूज, जनकपुरधाम । मिथिलाञ्चलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली जनकपुरधाम आइपुगेको छ ।
परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरूको १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १३३ किलोमिटर दूरी पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरधाम आइपुगेका हुन् ।
आज जनकपुरधामका विभिन्न स्थानमा विश्राम गरी सोमबार नगरको परिक्रमा गर्नेछ । यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर पनि चिनिन्छ । तर, मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरूले छोटो दूरीको अन्तरगृह परिक्रमा गर्छन् । अन्तरगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उप–महानगरपालिकाभित्र पर्छ ।
फागुन ११ गते धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्री सिताराम मिथिला विहारीको डोला निस्किएको थियो ।
१५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विषौल र पुनः कल्याणेश्वर पुगेर पुनः जनकपुर फर्किएर फागू पूर्णिमाका दिन नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुन्छ । यात्रामा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।



