हुलाकी न्यूज, काठमाडौं । सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २–२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । त्यस्तै, क्षेत्रपाटीकै एसजे सर्जिकलले खरिद बिल देखाउन नसकेपछि २० हजार जरिवाना तिराइएको छ ।

त्यसैगरी, महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको छ । बजारमा कोरोना भाइरसको त्रास बढेपछि मास्क लुकाएर महँगोमा बेच्नेहरूविरुद्ध सरकारले छड्के अनुगमन गरिरहेको छ ।

यता, व्यापारीले उपभोग्य सामानको कालोबजारी गरेको पाइए खबर गर्न गृह मन्त्रालयले अपील गरेको छ । मन्त्रालयले अनावश्यक हल्लाको पछाडि लागेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ ।

पछिल्लो समय व्यापारीहरूले उपभोग्य लगायत सामानको मूल्य बढाएको उपभोक्ताहरूको गुनासोका बीच शनिवार मन्त्रालयले विज्ञप्तिमार्फत अपील गरेको हो । कृत्रिम अभाव वा मूल्यवृद्धि गरेको पाइए कारबाही हुने मन्त्रालयले जनाएको छ ।

उपभोग्य सामानको कालोबजारी, कृत्रिम अभाव वा मूल्यवृद्धि गरेको पाइए सर्वसाधारणले स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, प्रमुख जिल्ला अधिकारी अथवा गृह मन्त्रालयमा पनि खबर गर्न सक्नेछन् ।

यसैबीच, हल्लाका पछि नलाग्न सरकारले सबैसँग आग्रह गरेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसबाट संक्रमित व्यक्ति नदेखिएको स्मरण गराउँदै गृह मन्त्रालयले सरकारको तर्फबाट प्रवाह गरिने सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले दैनिक प्रकाशित गर्ने बुलेटिनलाई मात्र आधिकारिक मान्न सबैलाई अपील गरिएको छ ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनैपनि अभाव नहुने स्पष्ट पारेका छन् । अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडा कारबाही गर्ने पनि उनले चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको पनि स्पष्ट पारे । कालोबजारी र बदमासी गर्नेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने पनि उनले प्रतिबद्धता जनाए ।

उनले बजारमा अहिलेपनि नुन, तेल, ग्याँसलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । उनले चार महिनालाई पुग्ने गरी स्टक राख्न खोजिएकाले अभावजस्तो देखिएको तर्कसमेत गरे । उनले कुनैपनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.