हुलाकी न्यूज, काठमाडौं । विद्यार्थीलाई हात चिर्न लगाएर शारीरिक यातना दिने शिक्षिकालाई प्रहरीले हिरासतमा लिएको छ ।

परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्मचार्यलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनले कक्षा ६ र ७ का ३४ विद्यार्थीलाई कम नम्बर ल्याएको भन्दै हात चिर्न लगाएकी थिइन् ।

यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्वरले शिक्षिका कर्मचार्यलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ ।

एकेडेमीले शिक्षिका कर्मचार्यलाई जागिरबाट बर्खास्त गरिसकेको भन्दै विज्ञप्ति निकालिसकेको छ । प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको जानकारी दिएका छन् । भक्तपुर घर भएकी उनले विगत १० वर्षदेखि यो स्कूलमा कक्षा ६ का विद्यार्थीहरूलाई सामाजिक विषय पढाउँदै आएकी थिइन् ।

२० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्मचार्यको दबाबपछि हात चिरेका थिए । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै समयमा धम्की दिएकी थिइन् । जति कम नम्बर आएको छ त्यति धेरै हातमा चिरा पारिएको छ ।

प्रहरीले घटनाको विषयलाई लिएर विद्यालय प्रशासन, पीडित विद्यार्थी र तिनका अभिभावकहरूसँग बुझिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.