
हुलाकी न्यूज, दुबई : दुबईमा रहेका मधेशीहरुले भव्यताका साथ होली मनाएका छन्।
गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएईको आयोजनामा भएको होली समारोहका प्रमुख अतिथि थिए जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउत। डा.राउत एनआरएमएका संस्थापक अध्यक्षसमेत हुन्।
शुक्रबारको होली समारोहमा हजारौंको संख्यामा मधेशीहरु सहभागी भएका थिए। समारोहमा सांस्कृतिक कार्यक्रमसमेत राखिएको थियो।
कलाकारहरु सपना साह र आर्ती चौधरीलगायतले आ–आफ्नो प्रस्तुती दिएकी थिइन् भने एनआरएमएका युवाहरुले पनि सांस्कृतिक पहिचान झल्किने प्रस्तुती दिएका थिए।
कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो।
एनआरएमएका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ईन्जिनियर बसन्त कुशवाहाका अनुसार मधेशको सांस्कृतिक पर्व होलीलाई दुबईमा मधेशीहरुले भव्यताका साथ मनाएका छन्।
एनआरएमएले विदेशमा पनि मधेशको पहिचान स्थापना गराउने काम गर्दै आएको जनमत पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका ई.कुशवाहाले बताए।



