हुलाकी न्यूज, काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस भित्रिन नदिन चीन तथा भारतसँगको नाकामा कडाई गर्ने भएको छ ।
भारतमा समेत कारोनाका संक्रमित देखिन थालेपछि नेपाल सरकारले विशेष सकर्तकता अपनाउन थालेको हो । सिंहदरबारमा आज बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोरोना नेपालमा भित्रिन सक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाइने निर्णय गरेको छ । बैठकले सीमा नाकाहरूमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय पनि गरेको छ ।
यसका साथै, मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघसँग समन्वय गरी छिटै मास्कको उत्पादन बढाउने निर्णय पनि भएको छ ।
विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिक रूपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए । नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी सङ्क्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा संक्रमण देखिएको थियो । अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण नदेखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सरकारले यसअघि नै सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । भारतले केही औषधि र कच्चापदार्थ निर्यातमा प्रतिबन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक औषधि उपलब्ध गराउन भारत सहमत रहेको स्पष्ट पारे ।
बजारको अवस्था मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने विषयमा सरकारले यसअघि नै मुख्य सचिवको नेतृत्वमा एक्सन कमिटी गठन गरिसकेको छ ।
त्यसैगरी, विद्यालयहरूमा परीक्षा छिट्टै सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ ।



