हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । मिर्गौलाको पुनः प्रत्यारोपण सफल भएपछि त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँँसो आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न पनि सुरु गरिसकेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइनेछ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रा. डा. उत्तम कुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमार लगायतको टोलीले गरेको थियो । त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा. डा दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो । त्यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेका थिए । यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा. अनन्तकुमारले नै गरेका थिए ।



