हुलाकी न्यूज, दाङ । थरुहट–थारुवान राष्ट्रिय मोर्चाले गरेको दुईदिने बन्दको प्रभाव बुधबार पनि देखिएको छ । बन्दको प्रभाव कैलाली, कञ्चनपुर, दाङलगायत क्षेत्रमा परेको छ । बन्दका कारण यी जिल्लामा शिक्षण संस्था, यातायात, बजार, उद्योग र कलकारखाना ठप्प भएका छन् । १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुरसहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको हो । आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरू निर्वाध रुपमा सञ्चालन हुन पाउँने बताइएको छ ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ । आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
प्रहरी उच्च अधिकारीसहित एक नावालक समेतको हत्या भएको कैलाली घटनापछि प्रहरी प्रशासनले छानिछानी थारुका घर जलाएको, सम्पत्ति लुटपाट गरेको, महिलामाथि यौनदुव्र्यवहार गरेको हुँदा त्यसको न्यायिक छानबिन हुनुपर्ने माग मोर्चाले गर्दै आएको छ । मोर्चाले दाङलाई प्रदेश नं. ५ को राजधानी तोकिनुपर्ने र बाँके, बर्दियालाई प्रदेश नं. ६ मा मिलाउन नहुने माग पनि राखेको छ । मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले थारु पहिचान भएका जिल्ला एउटै प्रदेशमा राख्नुपर्ने र त्यो अलग गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने जिकिर गरे ।
मोर्चाले मंगलबार र बुधबार तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थियो ।



