हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदैछ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले खटिएको छ । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको छ । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

प्रत्यारोपणपछि सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्ने छिन् । यसअघि, प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुनेछन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको शरीरमा चार ओटा मिर्गाैला हुनेछन् । डा. काफ्ले भन्छन्–प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला राख्ने होइन ।’ यो हिसाबले प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला हुनेछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै उच्च पदस्थ व्यक्तिसँगै नेता तथा कार्यकर्ताले शुभकामना दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ट्वीट गर्दै सफल प्रत्यारोपणसँगै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैबीच वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

अस्पतालमा शुभेच्छुको भीड

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीका शुभेच्छुक तथा कार्यकर्ताको भीड लागेको छ । उनीहरूले प्रधानमन्त्री ओलीको तस्बिरसहितको प्लेकार्ड बोकेर शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्यलाभको कामना गरेका छन् । त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्यबारे मन्त्री, नेता, उच्च सरकारी अधिकारीलगायत शिक्षण अस्पताल पुगेका थिए । त्यस्तै प्रधामन्त्रीका समकक्षी पाकिस्तानी प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ र जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएर प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथसँग प्रार्थना गरेको उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.