हुलाकी न्यूज, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएको भोलिपल्टै डा. युवराज खतिवडा पुनः मन्त्री बनेका छन् । डा. खतिवडालाई फेरि अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले उनलाई अर्थसहित सञ्चार तथा सूचना मन्त्रीको पनि जिम्मेवारी दिएको हो ।
उनले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए । राष्ट्रियसभाको सांसद् पदको दुईवर्षे कार्यकाल सकिएपछि मन्त्री खतिवडाले राजीनामा दिएका थिए । नेपालको संविधानअनुसार सांसद् नरहेका व्यक्तिलाई पनि मन्त्रिपरिषद्को सिफारिसमा ६ महिनाका लागि मन्त्री बनाउन सक्ने व्यवस्था छ । तर, ६ महिनाभन्दा बढी मन्त्री पदमा बहाल रहन सो अवधिभित्र सांसद् बनिसक्नुपर्नेसमेत व्यवस्था छ । यही व्यवस्थालाई टेकेर प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपनका लागि अप्रेशन थिएटरमा जानुअघि खतिवडालाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
डा. खतिवडाले बुधबार नै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिने कार्यक्रम छ ।



