हुलाकी न्यूज, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अज्ञात रोगका कारण ३५ जना बिरामी भएका छन् । त्रिपुरासुन्दरी– १ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लू बताइने अज्ञात रोगका बिरामीको उपचारका लागि औषधि र चिकित्सक बोकेर काठमाडौंबाट हेलिकप्टर जाने भएको छ ।

कर्णाली प्रदेशका मन्त्रीहरूले औषधिसहित चिकित्सक पठाउन माग गर्ने निर्णय गरेर केन्द्रमा पठाएको थियो । उक्त निर्णयपछि काठमाडौंबाट डोल्पाका लागि हेलिकोप्टर जान लागेको भए पनि हावा लागेका कारण आज जान नसकेको र भोलि बिहानै जाने डोल्पाका प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिएका छन् । ४५ घरधुरी रहेको करेलीकाँडामा घरैपिच्छे बिरामी रहेका छन् ।

यसैबीच, डोल्पा विपत व्यवस्थापनको आकस्मिक बैठक बसेको छ । मौसमी रुघाखोकीसँग मिल्ने लक्षण भएकाले आत्तिन नहुन जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमालले आग्रह गरेकी छन् । हाल गाउँमा सोमबारदेखि स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेका छन् । बिरामीको खकार र सिगानको नमूना संकलन गर्न कर्णाली प्रदेश सुर्खेतबाट टोली आउने डाक्टर हमालले जानकारी दिइन् ।

नमूना संकलन गरी हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको प्रजिअ सुनारले बताए । विपत व्यवस्थापनको बैठकले सबै क्षेत्रबाट सबैले सचेत हुन आग्रह गर्दै स्वास्थ्यमा आउने कुनैपनि विपतमा सहजता मिलोस भन्ने हिसाबले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पूर्व तयारी योजना समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.