हुलाकी न्यूज, काठमाडौं । राष्ट्रियसभाका १९ सांसद्को कार्यकाल आज सकिँदैछ । उनीहरूलाई संसदबाट बिदा गरिँदैछ । १९ जनामा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन् । खतिवडाको सांसद् पद गए पनि मन्त्री पद जाने/नजाने विषयमा संविधानमा प्रष्ट रुपमा नलेखिँदा कानुनविद्हरुबीच यस विषयमा बहस चलेको छ । केही कानुनविद्ले सांसद् पदसँगै मन्त्री पद स्वतः जाने भनिरहेका छन् भने केही कानुनविद्ले सांसद् नभए पनि ६ महिनासम्म मन्त्री बन्न पाउने तर्क गरिरहेका छन् । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद् भएका थिए । त्यस्तै, नयाँ निर्वाचित सांसदहरूको भने बुधबार ११ बजे सपथ ग्रहण हुने भएको छ । ५९ जना सांसद रहेको राष्ट्रियसभामा प्रतिपक्षको उपस्थिति कमजोर हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले ७ सिट गुमाएको छ । यसअघिका १३ मध्ये ६ जनामात्रै सभामा रहने छन् । त्यसैगरी, राजपाका २ र समाजवादीको एक जना सांसद गरी ९ जना प्रतिपक्षमा रहने छन् । सत्तापक्षले भने सिट संख्या बढाएर ४७ जना पु¥याएको छ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभामा ५९ सदस्य रहेका छन् । प्रत्येक प्रदेशबाट आठ–आठ जना गरी ५६ र राष्ट्रपतिबाट तीन जना मनोनित गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभाको व्यवस्था संविधानले गरेको छ । राष्ट्रियसभा स्थायी सदनका रूपमा रहेको छ । राष्ट्रियसभा सदस्यहरूको पदावधि दुई, चार अथवा बढीमा ६ वर्ष रहने व्यवस्था छ । प्रत्येक एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई–दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।
राष्ट्रियसभाबाट आज को–को बिदा हुँदै
राष्ट्रियसभाका ५९ सदस्यमध्ये कसको कार्यकाल कत्ति हुने टुंगो २०७५ साल असार ४ गते गोला प्रथाद्वारा तय गरिएको थियो । यसरी गरिएको गोपाप्रथाबाट दुई वर्ष मात्र भागमा परेका सांसद्हरूको पदावधि आज समाप्त भइरहेको छ । जसमा सांसद्हरू सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।
के हो राष्ट्रियसभा ?
नेपालको संविधानमा व्यवस्था भएअनुसार राष्ट्रियसभा एक स्थायी सदन हो, जसमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानूनबमोजिम प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी ५९ जनाको राष्ट्रियसभा गठन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ, तर गोला प्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ । संविधानको धारा ८३ बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद् भनिएको छ । राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट तीनजना महिला, एकजना दलित, एकजना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति तथा तीन खुल्ला सदस्य गरी आठजना हुन्छन् । सात प्रदेशबाट आठ/आठ जना गरी ५६ जना हुन्छन् । एक महिलासहित तीनजना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने पनि व्यवस्था छ । त्यसपछि राष्ट्रिय सभाको कुल सदस्य संख्या ५९ जना हुन जान्छ ।



