हुलाकी न्यूज, भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल छोड्न सक्ने बताएपछि समर्थक निराश बनेका छन् । उनले सोमबार राति ट्वीट गर्दै आफूले सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युब छाड्नेबारेमा सोचिरहेको बताएका हुन् । उनले व्यक्तिगत ट्वीटरमा सोमबार राति लखेका छन्– ‘सोच्दैछु, आइतबारदेखि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युबबाट आफ्नो सामाजिक सञ्जालका एकाउन्ट्स छाडिदिउँ ।’
उनको यो ट्वीटपछि भारतीय सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । मोदीका समर्थकहरूले यस्तो निर्णय नगर्न आग्रह गरेका छन् । अर्कोतर्फ विपक्षी दलका नेताहरूले पनि सामाजिक सञ्जाल नछाड्न बरु घृणा र गलत विचारहरू त्याग सुझाएका छन् । भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले उक्त ट्वीटलाई रिट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जाल होइन, घृणा छोड्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटरमा ५ करोड ३३ लाख फलोअर्स छन् । त्यस्तै, फेसबुकमा ४ करोड ४७ लाख, इन्स्टाग्राममा ३ करोड ५२ लाख र युट्युबमा ४५ लाख बढी सब्सक्राइबर छन् ।



