हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को नाम तोक्नका लागि फागुन २३ गते प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई बनाउने सहमति गरेका दलहरूबीच नामबारे भने सहमति जुट्न सकेको छैन ।

प्रदेशको नामाकरणका लागि प्रदेशसभाअन्तर्गतको विशेष समितिमा पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेपछि मतदानमा जाने निर्णय गरिएको हो । प्रदेशको नामबारे २२ गते प्रदेशसभामा छलफल हुनेछ भने २३ गते मतदान हुनेछ । सभामुख सरोजकुमार यादवका अनुसार दर्ता भएका चार वटै प्रस्तावलाई मतदानमा लगिनेछ ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले मधेश, प्रमुख विपक्षी नेपाल कम्युनिस्ट पार्टीले जानकी, नेपाली कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका थिए । त्यस्तै केही सांसद्ले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ दलहरूसँग दुई तिहाई मत नरहेको अवस्थामा अन्य दलको पनि सहयोग चाहिने भएकाले मतदानबाट पनि नाम निष्कर्ण लाग्नु चुनौतीपूर्ण रहेको छ ।

कुल १०७ सांसद रहेको प्रदेश २ मा नेकपासँग ३२, समाजवादीसँग ३०, राजपासँग २५, कांग्रेससँग १९ र संघीय समाजवादीसँग १ सांसद छन् । समितिलाई पहिलो बैठक सुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो । समितिले जनकपुरलाई राजधानी तोक्न सहमति जुटाए पनि नामकरणबारे सहमति जुटाउन असफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.