हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मृर्गौला प्रत्यारोपणका सोमबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री दिउँसो आउने भनिए पनि साँझ मात्र अस्पताल पुगेका हुन् । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलसमेत रहेका छन् । प्रधानमन्त्री ओलीको बुधबार पुनः मृर्गौला प्रत्यारोपण गरिँदै छ ।
मृर्गौला दिने व्यक्तिको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । यद्यपि ओलीलाई नातामा पर्ने भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मृगौला दान गर्ने बताइएको छ । नेकपाका अध्यक्ष ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मृर्गौला प्रत्यारोपण गरिएको थियो । गत कात्तिकयता मृर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्रीले नियमित डायलोसिस गराउँदै आएका छन् । चिकित्सकको सल्लाहमा नै उनले अहिले पुनः मृर्गौला प्रत्यारोपण गर्दै छन् ।
शिक्षण अस्पताल, प्रत्यारोपण विभागका प्रमुख प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा टोली तयारी अवस्थामा छ । ज्ञवालीसँगै अस्पतालका युरोलोजी विभागका प्रमुख डा. उत्तम शर्मा, डा. पवन चालिसे, प्रा. डा. दिव्यासिंह शाहलगायत चिकित्सकको सहभागिता रहनेछ । प्रत्यारोपण टोलीलाई सघाउन भारतबाट पनि विशेषज्ञ चिकित्सक नेपाल आएका छन् ।
अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली सोमबार दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त थिए । मृर्गौला प्रत्यारोपण गरेका बिरामी सामान्यतयाः छ दिनमा घर फर्कन सक्नेछन् । कार्यकारी निर्देशक खड्गाले प्रत्यारोपण सम्पन्न भएको छ दिनमा प्रधानमन्त्रीलाई घर पठाइने बताए । स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने देशका कार्यकारी प्रमुखको निर्णयको जनस्तरमै तारिफ भएको छ ।
मृगौला दान गर्ने भाञ्जी पनि पुगिन् अस्पताल
प्रधानमन्त्री केपीशर्मा ओलीलाई मृर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला ज्ञवाली त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । प्रधानमन्त्री ओलीसँगै उनी पनि सोमबारै अस्पताल भर्ना हुने छिन् । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।



