हुलाकी न्यूज, काठमाडौं । नेपाल सरकारले पाँच देशका नागरिकलाई अनअराइभल भिषा नदिने भएको छ । मन्त्रिपरिषद् बैठकले पाँच देशका नागरिकलाई ’अनअराइभल भिषा’ नदिने भएको हो । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै पाँच वटा देशको अनअराइभल भिषा रोक गर्ने निर्णय गरेको हो । जसमा चीन, जापान, इरान, इटाली र दक्षिण कोरिया छन् । अब यी देशका नागरिकले विदेशबाट नै भिषा लगाएर स्वास्थ्य परीक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन् ।
यसैबीच, सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कूल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । तर, आदेशको लिखित रूप नआइसकेकाले कुन–कुन विषयमा अन्तरिम आदेश जारी भएको हो भन्ने खुलेको छैन ।



