हुलाकी न्यूज, काठमाडौं । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थमा गरिएको करवृद्धिबारे संसद्लाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् । पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएर सरकारले जनतालाई बोझ थपेको भन्दै समाजवादी पार्टीले लगातार दुई दिनसम्म सरकारको जवाफ मागेपछि सभामुखले रुलिङ गरेका छन् ।
प्रतिनिधिसभा बैठकको सुरुमै समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले लगाएको दोहोरो करको मारमा जनता थिचिएको बताइन् ।
सरकारले मन्त्रिपरिषद्को निर्णयबाट पूर्वाधार विकास करको दर परिमार्जन गरी डिजेल र पेट्रोलमा ५ रुपैयाँ बढाएको हो । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पु¥याउने निर्णय गरेको थियो ।



