हुलाकी न्यूज, महोत्तरी । १५ दिने मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत परिक्रमा यात्री कञ्चनवन आइपुगेका छन् । शनिबार राति महोत्तरीकै धुव्रकुण्डमा बिताएका यात्रीलाई आइतबार कञ्चनवन आइपुगेका हुन् । परिक्रमा यात्रीले एकआपसमा रङ, अबिर दली फागु खेलेका छन् ।
मिथिला माध्यमिकी परिक्रमाका यात्री कञ्चनवनमा पुगी एकापसमा फागु खेलेपछि मिथिलाञ्चलमा औपचारिक रुपमा फागु पर्व सुरु भएको मान्यता छ । कञ्चनवनमा त्रेता युगमा सीता र रामले रङ र अबिर दलेर होली खेलेको विश्वास छ ।
परिक्रमामा मिथिला विहारीको डोलासँगै परिक्रमामा कञ्चनवन पुगेका सहभागीहरुले एक अर्कालाई रङ र अबिर दलेर होेली पर्वको शुभारम्भ गरेका हुन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ । 
फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्येमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल हो । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको छ ।
यहाँ परिक्रमामा सहभागीहरु रङ र अबिर दलेर होली खेल्ने गर्छन् । महोत्तरीको भंगहा नगरपालिकास्थित कंचन वनमा सामूहिक होली खेलाइएसँगै मिथिला क्षेत्रमा विधिवत रुपमा होली प्रवेश गरिएको मान्यता रही आएको छ ।
मन्त्री, सांसददेखि भक्तजनसम्मले खेले होली
आइतबार मिथिला मध्यमा परिक्रमाका सहभागीले एकले अर्कालाई रंग र अबीर दलेर कंचन वनमा होली मनाएका छन् । परिक्रमामा सहभागी भएकाले एकले अर्कालाई रंग र अबीर दलिरहँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले पनि एक अर्कालाई रंग, अबीर दलेर सहभागीहरूसँग रमाएका छन् ।
होली मनाइरहँदा हेलिकप्टरबाट पुष्प वृष्टिसमेत गरिएको थियो । होली महोत्सवमा संस्कृति, पर्यटन, नागरिक तथा उड्ड्यन मन्त्री भट्टराईले नेपाल अनेक भाषा र संस्कृतिको संगम भएको बताए । उनले भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । मैथिली पनि राष्ट्रिय भाषा भएको भन्दै मन्त्री भट्टराईले आफू मैथिली राम्रोसँग बुझे पनि दोहोरो कुराकानी गर्न नसकेको बताए । प्रदेश २ लाई धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्र बनाउन प्रदेशले बजेट लगाउनुपर्ने भन्दै भट्टराईले केन्द्रले पनि प्रदेशको समृद्धिका लागि बजेटमा कमि नगर्ने बताए ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री यादवले मिथिला माध्यमिकी परिक्रमामा मात्रै हजारौं पर्यटक आएको भन्दै यसलाई व्यवस्थित गर्न संघीय सरकारले समेत ध्यान दिनुपर्ने बताए ।
जनकपुरधामस्थित हनुमान नगरबाट डोलासहित शुरु गरिएको मिथिला माध्यमिकी परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै आइतबार कञ्चन वन पुगेको हो । नेपाल र भारतका १३३ किमी लामो मिथिला परिक्रमा यात्रामा विभिन्न १५ वटा पडाबस्थलमा बास बस्ने परम्परा छ ।



