हुलाकी न्यूज, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।
सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्राले व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरिसकेका छन् । परराष्ट्र मामिलामा ३० वर्षे अनुभव बोकेका क्वात्रा सन् १९८८ ब्याचका विदेश मन्त्रालयका कर्मचारी हुन् ।
विज्ञानमा स्नातकोत्तर गरेका उनी सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरिसकेका छन् । भारतको प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयमा रहेर काम गरिसकेका क्वात्रा वरिष्ठ कूटनीतिज्ञ हुन् ।
यसअघि, राजदूत मञ्जीव सिंह पुरी तीनवर्षे कार्यकाल सकेर १५ पुसमा स्वदेश फर्किएका थिए ।



