हुलाकी न्यूज, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा घर भएको बताउने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
उनले नाता कायम गरी अंश दिलाई पाऊँ भनेर मुद्दा दायर गरेकी छन् । मुद्दामा खड्काले आफूलाई मुख्यमन्त्री राईले शारीरिक यातना दिएको तथा यौन दुव्र्यवहार गरी घरेलु हिंसा गरेको आरोप लगाएकी छिन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन् ।
खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् । खड्काले दायर गरेको मुद्दामा आफूलाई सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा कोठा लिई राखेको उल्लेख गरेकी छिन् । साथै आफू राईसँग ७१ सालदेखि सँगै रहेको बताएकी छिन् ।
राई मुख्यमन्त्री भइसकेपछि पनि आफूले विराटनगर गएर भेट्न खोजे पनि बेवास्ता गरेको उनले उल्लेख गरेकी छिन् । उनले आफूलाई भएको अन्यायबारे नेकपाका शीर्ष नेताहरूलाई जानकारी दिन खोज्दा बेवास्ता गरेको समेत मुद्दामा उल्लेख गरेकी छिन् ।
अदालतले मुद्दा दर्तासँगै मुद्दा पेशी समेत तोकिसकेको छ ।



