हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनका लागि संघ सरकारबाट इमान्दार प्रयास हुन नसकेको बताएका छन् । मानव अधिकार पत्रकार संघले शुक्राबार जनकपुरधाममा गरेको संघीयता कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताएका हुन् ।
संघीयता कार्यान्वयनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको दाबी गर्दै उनले भने, ‘शुरुमा कामै नलाग्ने कर्मचारीहरू पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्णभयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ।’
उनले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरू संघीयतालाई कमजोर गर्ने जति प्रयास गरे पनि अबको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफू विश्वस्त रहेको पनि बताए । उनले भने, ‘गाँउगाँउमा विकासको आभास भइरहेको छ, जनताको घर–घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइरहेको छ ।’
कार्यक्रममा प्रदेश सांसद् परमेश्वर साह, प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, समाजसेवी अमरचन्द्र अनिल, मानव अधिकार पत्रकार संघका अध्यक्ष घनश्याम खडकालगायतको सहभागिता थियो ।



